नेपालगन्ज। प्रसिद्ध शायर सय्यद नेपालीको निवासमा आज आयोजित नातिया समारोहमा नातिया कलाम प्रस्तुत गर्नुका साथै गत २६ अगस्टमा नेपालको उत्तरी क्षेत्रमा आएको आकस्मिक बाढीबाट ज्यान गुमाएका तथा घरबारविहीन भएका पीडितहरूको सम्झनामा विशेष प्रर्थना समेत गरेका छन।
उ्रक्त समारोहमा सहभागी शायर, साहित्यप्रेमी तथा मुस्लिम समुदायका अगुवाहरूले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राहत तथा सहयोगमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन ।

शनिवार आयोजना गरिएको उक्त समारोहको अध्यक्षता प्रसिद्ध शायर सय्यद नेपालीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा स्थापित राजनीतिज्ञ तथा समाजसेवी मोहम्मद हारुन कादरीको समेत उपस्थित रहेका थिए ।
विपद् तथा संकटका बेला पीडितहरूको सहयोगमा निरन्तर सक्रिय रहँदै आएका कादरीले बाढीबाट प्रभावित नागरिकहरूको दुःखमा सबै समुदाय एकजुट भएर साथ दिनुपर्नेमा जोड दिए ।
नातिया समारोहमा शायर मेराज अहमद हिमालय, इस्माइल अन्सारी, सरवर नेपाली, डा.आसिम सरवर, डा. जैनुल आबेदीन तथा सभाध्यक्ष सय्यद नेपालीले आ–आफ्ना रचना तथा नातिया कलाम प्रस्तुत गरे । प्रस्तुत कलाममार्फत पैगम्बर हजरत मोहम्मद ﷺ प्रतिको श्रद्धा र प्रेम अभिव्यक्त गरिएको थियो।
कार्यक्रममा समाजसेवी कदीर अन्सारी तथा प्रसिद्ध शायर, साहित्यप्रेमी एवं सामाजिक कार्यकर्ता नुरुल हसन राईको विशेष उपस्थिति रहेको थियो भने विभिन्न क्षेत्रका व्यक्तित्व, साहित्यप्रेमी तथा मुस्लिम समुदायका सदस्यहरूको सहभागिताले समारोहलाई थप गरिमामय बनाए ।
समारोहको अन्त्यमा बाढीमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा घरबारविहीन र प्रभावित परिवारको सहज पुनर्स्थापनाका लागि सामूहिक रूपमा विशेष प्रर्थना समेत गरे ।
सहभागीहरूले प्राकृतिक विपत्तिको यस कठिन समयमा पीडितहरूको सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्व भएको उल्लेख गर्दै नेपालगन्जको मुस्लिम समुदायले राहत तथा सहयोग कार्यमा बढचढ गरी सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

