आजको सार्वजनिक बिदा कटौती

काठमाण्डौ । गृह मन्त्रालयले विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।
आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी मन्त्रालयले विपद्जन्य अवस्था नभएका ठाउँमा सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा प्रवाहको काम नरोक्न निर्देशन दिएको छ ।

मन्त्रालयका सह–सचिव जयनारायण आचार्यले भने, ‘जिल्लाको अवस्था के कस्तो छ भनेर प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्छन् । विपद्जन्य अवस्था छैन भने कार्यालयहरूले सेवा दिनुपर्ने गृहमन्त्रालयको निर्णय रहेको छ ।
काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पनि विपद्जन्य अवस्था नरहेकाले अब सेवा निरन्तर गर्नुपर्ने सचिव आचार्यले जानकारी दिनुभयो ।
स्मरण रहोस कि शुक्रबार देखि भीषण वर्षा भएपछि सरकारले सम्भावित विपद्लाई मध्यनजर गरी आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको थियो तर, आइतबारबाट मौसममा सुधार हुन थालेपछि सोमबारको बिदा कटौती गरेको छ ।

