कार्यक्रममा श्रष्टाद्वय सम्मानित
नेपालगञ्ज ः आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा आइतवार नेपालगञ्जको भानुभक्त चोकमा विशेष कार्यक्रम गरी मनाएका छन ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति नेपालगञ्ज र महेन्द्र पुस्तकालय नेपालगञ्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा वरिष्ठ स्रष्टाहरुलाई सम्मान समेत गरिएको छ ।
भानुभक्त चोक न्यूरोडमा रहेको भानुभक्त आचार्यको शालिकमा माल्र्यापण सँगै निकालिएको प्रभात फेरि महेन्द्र पुस्तकालयमा पुगेर स्रष्टा सम्मान कार्यक्रममा परिणत भएको थियो ।
स्रष्टाहरुको रचना वाचन सहित भएको कार्यक्रममा वरिष्ठ उर्दु शायर अब्दुल लतिफ शौक र अवधीका वरिष्ठ स्रष्टा सच्चिदानन्द चौबेलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बहादुर बस्नेत, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव र भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले स्रष्टाहरुलाई अभिनन्दन सहित सम्मान गरेका थिए ।
कार्यक्रममा प्रा.डा. हरिप्रसाद तिमिल्सिनाले आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पारेका थिए भने प्रमुख अतिथि रेग्मी आदिकविको कृतित्वबारे चर्चा गरेका थिए ।
कवि प्रभात सुवेदी र सच्चिदानन्द चौबेले भानुभक्तका केही श्लोक प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण महेन्द्र पुस्तकालयका सचिव मणिदेव अर्यालले गरेका थिए ।

